आज लक्ष्मीपूजा, कुकुर तिहार पनि आजै

 न्यूज विराट
आज लक्ष्मीपूजा, कुकुर तिहार पनि आजै

काठमाडौं, २९ कात्तिक-यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । 

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

  पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन  बढ्न थालेको छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

   आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको थियो । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए ।

   आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी  दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

  लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परानुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए ।

कात्तिक ३० गते लक्ष्मीपूजा शास्त्र विपरीत 
यस वर्ष केही समूहले लक्ष्मीपूजा कात्तिक ३० गते मनाउने भनी शास्त्रीय मान्यता विपरीत पर्व मनाउन उत्पे्ररित गरी प्रचारप्रसार गरेको समितिका सदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो ।  ‘केही समूहले राजनीतिक उद्देश्य प्राप्तिका लागि धार्मिक विषयमा अशास्त्रीय मान्यता स्थापित गर्न खोजेका छन्, तिथिमा घटबढ यसअघि विसं २०६६, २०६७, २०७६ र त्यसअघि पनि भएको हो, यस वर्षको पात्रो गत वर्ष माघमै निस्किए पनि तिहारको मुखमा विवाद निकाले,’ उनले भने ।

 राजनीतिक उद्देश्यबाट प्रेरित भई गरिएको आह्वान पुराना पात्रोसम्मत समेत नभएकाले यसअघि लक्ष्मीपूजा, आत्म (म्ह) पूजा र भाइटीका मनाइएको तिथिमिति हेर्न सदस्य जोशीले अनुरोध गर्नुभएको छ । राजनीति गर्नेहरुले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उहाँको आरोप छ ।

 धर्मशास्त्र र ज्योतिषशास्त्र विपरीत गरिएको चाडपर्वको निर्णय मान्य नहुने उहाँको भनाइ छ । त्यसअनुसार चाड पर्व मनाउन आह्वान गर्नेले पात्रो गणना गरेर सार्वजनिक गर्नुुपर्ने समिति सदस्य जोशीको सुझाव छ ।

कुकुर तिहार पनि आजै
यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।

   घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।

अरुणोदयकालमा नरक चतुर्दशी स्नान र  दीपदान
कार्तिक कृष्ण चतुर्दशीको बिहान आज अरुणोदयकालमा नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ ।

    आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको नेपाल  पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

  कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो । यस वर्ष कात्तिक २७ गतेदेखि तिहार शुरु भएको हो । दोस्रो दिन शुक्रबार काग तिहार पर्व मनाइएको थियो । रासस

सम्बन्धित समाचार

कोशी अस्पताललाई १ करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण, अब आँखाको अल्ट्रासाउन्ड र जलबिन्दुको नशा जाँच हुने

विराटनगर । विराटनगरस्थित कोशी अस्पताललाई एक करोड ६ लाख बढीको अत्याधुनिक नेत्ररोग चिकित्सा उपकरण सहयोगमा आएपछि आँखाको अल्ट्रासाउन्ड र जलबिन्दु भएका विरामीहरुको आँखाका नशा जाँचलगायतका सेवाहरु सुचारू भएको छ ।तीन महिना अगाडीदेखि मोतियाबिन्दु लागेका विरामीको...

कोरोना महामारीसँग जुध्न बेलायतले नेपाललाई १ करोड पाउण्ड सहयाेग गर्ने

काठमाडाैं, २५ जेठ-बेलायत सरकारले कोरोना महामारीसँग जुध्न नेपाललाई थप आर्थिक सहयोग घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डीएफआइडी) मार्फत उक्त सहयोग गरेको हो । डीएफआइडीले कोरोना संक्रमण न्यूनीकरण र उपचारका लागि...

सर्वेन्द्र, महेश र किसानविरुद्धको मुद्दा सरकारी वकिल कार्यालयमा दर्ता

काठमाडौं, २२ वैशाख-नवगठित दल जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान हुने भएको छ । डा. यादवले दिएको जाहेरी सरकारी वकिल कार्यायल, काठमाडौंले दर्ता गरेपछि अपहरण घटना छानबिन हुने भएको हो ।...

भोलिदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं, ३ असोज । भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट...

भारत पश्चिमाको चीनविरोधी नीतिको मोहरा बन्यो : रुस

एजेन्सी, २५ मंसिर-रुसले भारत पश्चिमा देशको चीनविरोधी नीतिको मोहरा बनेको आरोप लगाएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले क्वाड समूहको कडा विरोध गर्दै भारतलाई चीनविरोधी पश्चिमी देशको ‘लगातार, आक्रामक र छलपूर्ण’ नीतिको मोहरा भएको टिप्पणी...

युवती मृत अवस्थामा फेला

विराटनगर, चैत २०–ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत अवस्थामा फेला परेकी छन् । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी युवती बेलुका सम्म पनी...

राजदूतहरूको १ महिनाको तलब कोरोना उपचार कोषमा

काठमाडौं, ३० चैत-मध्यपूर्व तथा खाडी देशमा खटिएका ९ जना नेपाली राजदूतले आफ्नो १ महिनाबापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । इजरायल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र...

आईटीएफ तेक्वान्दो शनिबारदेखि, १३५ खेलाडीको सहभागि

विराटनगर । कोशी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शनिबारदेखि विराटनगरमा हुँदैछ । शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोशी खेलकुद विकास बोर्डको संयोजनमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले दुई दिने प्रदेश स्तरीय प्रतियोगिता गर्न लागेको जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्