काठमाडौं, ६ असार-लगानी बोर्डले एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका ७ वटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले ५ वटा जलविद्युत् परियोजना र २ वटा सिमेन्ट उद्योगका लागि उक्त रकम बराबरका ७ परियोजना स्वीकृत गरेको हो ।
बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् परियोजना–२ का लागि ७८ अर्ब ६५ करोड, ४२.९ मेगावाटको आँखुखोला जलविद्युत् परियोजनाका लागि ६ अर्ब ३० करोड, ९७.२ मेगावाटको इसुवाखोला जलविद्युत्का लागि १३ अर्ब ५७ करोड, ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत्का लागि १० अर्ब ३१ करोड र १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि २८ अर्ब ६ करोडबराबरको लगानी स्वीकृत गरेको हो ।
त्यसैगरी, बैठकले दाङ सिमेन्ट इन्डस्ट्रिजका लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट उद्योगका लागि १५ अर्ब ५ करोड बराबरको लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ । बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगङ्गामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमतासहितको १२५ मेगावाटका २ छुट्टाछुट्टै सौर्य ऊर्जा परियोजनाको सार्वजनिक–निजी साझेदारीमा विकास तथा सञ्चालनका लागि अध्ययन गर्न राइजेन इनर्जी सिङ्गापुर जेभी पिटिई लिमिटेडलाई सर्वेक्षणको अनुमति पनि बैठकले दिएको छ ।