एजेन्सी, जेठ २५-अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ ।
अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्युपछि सुरु भएको प्रदर्शन १२ दिन पनि जारी रह्यो ।
जातीय विभेदविरुद्धको प्रदर्शन विश्वका अन्य भागमा पनि फैलिएको छ।
बेलायत र अस्ट्रेलियामा कोरोना भाइरसको जोखिम रहँदा रहँदै पनि ठूलो संख्यामा मानिसहरू प्रदर्शनमा सहभागी भएका छन् । अमेरिकाको राजधानी वासिङ्टनमा अहिलेसम्मकै ठूलो प्रदर्शनमा दशौं हजार मानिसहरू सहभागी भएका छन् ।
प्रदर्शन बढ्दै जाँदा प्रहरीले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस पुग्ने सबै बाटोहरू बन्द गरेको छ । वासिङ्टनमा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई मेयर मुरिअल बाउसरले स्वागत गर्दै प्रदर्शनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा सन्देश दिएको बताएका छन् ।
बाउसरले संघीय सुरक्षा बलका जवानहरू र नेशनल गार्ड सैनिकहरूलाई वासिङ्टन सहरबाट हटाउन माग गरिन् । गत सोमवार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउस नजिकैको चर्चसम्म जान बाटो खोल्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । ट्रम्पले वासिङ्टनमा सैनिक परिचालन गरेका छन् ।
न्यूयोर्क, शिकागो र सन फान्सिस्कोमा पनि ठूला प्रदर्शनहरू भएका छन् । फ्लोइडको जन्मस्थल नर्थ क्यारोलिनामा भने मानिसहरूले उनलाई श्रद्धान्जली प्रकट गरेका छन् ।
न्यूयोर्कमा प्रदर्शनकारीहरूले ब्रुकलिन ब्रिज पार गरे भने शिकागोमा गोल्डन गेट ब्रिज केही समयका लागि बन्द गरेका थिए । बेलायतमा पनि हजारौं मानिसहरूले जातीय विभेदविरुद्धको प्रदर्शनमा सहभागिता जनाएका छन् । लन्डन, म्यानचेस्टर, कार्डिफ र शेफिल्ड लगायतका सहरहरूमा प्रदर्शन भएका छन् ।
लन्डनमा एक मिनेटको मौनधारणपछि प्रदर्शनकारीहरूले नारा लगाउन सुरु गरेका थिए । दिनभरि प्रदर्शन शान्तिपूर्ण रहे पनि बेलुकी प्रधानमन्त्री निवास नजिकै भने केही हिंसात्मक घटना भएका थिए ।
अस्ट्रेलियामा पनि हजारौँ मानिसहरूले जातीय विभेदविरुद्धको प्रदर्शनमा सहभागिता जनाएका छन् । कोरोनाभाइरस जोखिमको बारेमा चेतावनीलाई वेवास्ता गर्दै प्रदर्शन गरिएका हुन् । ब्रिस्बेन, मेलबर्न, होबर्ट र अन्य क्षेत्रमा समेत विरोध प्रदर्शन गरिएका छन् ।