विराटनगर, २१ माघ । तीन जनाको बीभत्स हत्याका आरोपीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । मोरङ प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका– २१ का ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनीका अमित साह भनिने दीनानाथ सुनुवार र मोरङको धनपालथान गाउँपालिका– ७, कमलपुरका ६२ वर्षीय नासिर आलम छन् ।
उनीहरूले तेह्रथुमका ६२ वर्षीय मोहनकुमार लिम्बू, सुनसरीको धरान– ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका– ४ का ३२ वर्षीय शम्भु चौधरीको बीभत्स हत्या हत्या गरेका थिए ।
श्रेष्ठ र चौधरीलाई उनीहरूले मोरङमा हत्या गरेर उखुबारीमा गाडेका थिए । लिम्बूलाई भने मण्डलको समूहले ललितपुर गोदावरी नगरपालिका– १२, धापाखेलमा हत्या गरेका थिए । उनको शव प्रहरीले बिहीबार फेला पारेको थियो ।
प्रहरीको अनुसन्धानले ५ माघमा श्रेष्ठ, ७ माघमा चौधरी र २८ मंसिरमा लिम्बूको हत्या गरेको खुलेको छ । लिम्बूको हत्यापछि उनीहरूले श्रेष्ठ र चौधरीलाई मोरङ पुर्याएर हत्या गरेका हुन् ।
प्रहरीको अनुसन्धानले हत्याको पछाडि आर्थिक कारण मुख्य भएको जनाएको छ । श्रेष्ठ र चौधरीको शव भने मोरङ प्रहरीले १२ माघमा फेला पारेको थियो ।