काठमाडौं, ७ असोज । यो साताको अन्तिम कारोबारको दिन नेप्से सूचक सामान्य अंकले बढेपछि ५६ कम्पनीले नाफा कमाएका छन् ।
बिहीबार कारोबारमा आएका २ सय २८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २ सय ६६ कित्ता शेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँमा कारोबार भएको छ ।
कारोबार सुरु भएसँगै बढेको नेप्से दिनभर अस्थिर बन्दा सामान्य अंकको सुधार मात्र हुन सक्यो । जसले पनि उपसूमह तर्फ वित्त समूहबाहेक सबै समूह राताम्मे बन्न पुगे । सबै उपसमूह राताम्मे बन्दा कारोबारमा आएका १ सय ८२ कम्पनीको शेयरमूल्य घट्न पुग्यो भने ५६ कम्पनीको शेयरमूल्य बढ्न पुग्यो ।
बढ्नेमा मनकामना स्मार्ट लघुवित्त अगाडि छ । यो कम्पनीको कित्तामा १ सय १९ रुपैयाँले अर्थात १० प्रतिशतले शेयर मूल्य बढेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको ६ प्रतिशत तथा नेपाल बैंक र नबिल बैंकको ५ प्रतिशतभन्दा धेरैले शेयर मूल्य बढेको छ ।
यस्तै घट्नेमा भने हिमालयन पावर पार्टनर र युनियन हाइड्रो अगाडि छन् । यी दुवैको ५ प्रतिशतले शेयरमूल्य घटेको छ भने सँगै शिभश्री हाइड्रो,अरुण हाइड्रोलगायतका कम्पनी पनि घट्नेमा अगाडि छन् ।
कारोबारका आधारमा भने आज सानिमा विकास बैंक अगाडि छ । सानिमाको ३४ करोड १५ लाख ८३ हजार ९ सय ७२ रुपैयाँको कारोबार भएको छ भने नेपाल बैंक,माछापुच्छ्रे बैंकको पनि सर्वाधिक कारोबार भएको छ ।