विराटनगर, ३१ भदौ । धरानमा सवारी साधनको चाप बढेसँगै यसलाई व्यवस्थित गराउन असोज १ गते देखि ’वान वे’ बनाइने भएको छ ।
धरानको मुख्य बजारमा ओहोरदोहोर सवारी साधन सञ्चालन हुँदा ट्राफिक जाम हुने भएकोले असोज १ गते देखि पहाडबाट आउने सवारी साधनहरूलाई धरानको लक्ष्मी चौक देखि पुरानो बजार, माछाभौडी, देशीलाईन हुँदै भानुचौकको रुट प्रयोग गर्नुपर्ने छ ।
यसैगरी पहाड जाने सवारी साधनलाई भानुचौक देखि छाताचौक, लक्ष्मीचौक हुँदै सवारी साधन सञ्चालन गर्नुपर्ने धरान उपमहानगरपालिकामा हालै बसेको बैठकले निर्णय गरेको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।
ठुला सवारी साधन सँगै सबै खाले सवारी साधनहरूलाई ’वान वे’को नियम लागुहुने पनि अधिकृत सापकोटाले बताए । यसका लागि ट्राफिक प्रहरीसँग समन्वय गरेर निर्णयलाई कार्यान्वयनमा ल्याइने छ ।