काठमाडौं, ४ भदौ । सदीय दलको ह्वीप उल्लंघन गरेको अभियोगमा निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न एमालेले आज पनि सभामुख अग्नि सापकोटालाई दबाब दिदैछ ।
आज कार्यालय समय शुरु हुनासाथ एमालेका सांसदहरू सभामुखको कार्यकक्षमा पुगेका छन् । सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी,गोकुल बास्कोटा,कृष्णभक्त पोखरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित,विमला विश्वकर्मा,गोमा देवकोटा,सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन गएका हुन् ।
पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । बुधवार प्रमुख सचेतक विशाल भट्टराईसहितले औपचारिक रुपमा सभामुखलाई कारवाही प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । सभामुखले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताएका छन् ।