काठमाडौं, १ भदौ–नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ देखिएको छ । यीमध्ये ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमित छन् । २ हजार ६ सय १ जना होम आइसोलेसनमा छन् । अन्यको देशभरका विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टाको अवधिमा थप १ सय ६० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।
सोमबार थप ११ हजार ५ सय २० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यससँगै कुल ५ लाख २९ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्याङ्क छ । हालसम्म देशका विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टाइनमा रहनेको संख्या १५ हजार १ सय ९८ छ ।