शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा ३८ जना पुरिएका थिए । ३८ जनामध्ये ११ जनाको शव फेला परेको वडा अध्यक्ष लामाको भनाइ छ ।पहिरोमा परी बेपत्ता भएका अन्य २७ जनाको उद्धार कार्य जारी रहेको उनको भनाइ छ । ‘अहिले ११ जनाको शव निकालिएको,’ उनले भने, ‘बेपत्ता अन्यको खोजी गर्ने कार्य भइरहेको छ ।’
त्यस्तै, पहिरोमा परी घाइते भएका ५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ४ जनाको चौतारामा र गम्भीर घाइते १ जनाको काठमाडौंमा उपचार भइरहेको उनको भनाइ छ ।
शुक्रबार बिहान आएको पहिरोले ३७ घरमा क्षति पुर्याएको उनले बताए । अहिले उद्धारका साथसाथै घरबारविहीन भएका स्थानीयका लागि वैकल्पिक वासको व्यवस्थापन भइरहेको उनको भनाइ छ । उनका अनुसार पहिरोका कारण १ सय ७२ घर उच्च जोखिममा परेका छन् ।