नेपाल सरकारले जारी राखेको कोरोना महामारी नियन्त्रणको प्रयासमा सघाउने उद्देश्यले ती संस्थाहरूका तर्फबाट १३ लाख ३७ हजार थान मास्कलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय भएबमोजिमको एक लट सामग्री बिहीबार नेपाल ट्रान्स हिमालयन सोसाइटीलाई उपलब्ध गराइएको हो ।
चीनको बुद्धिस्ट एसोसिएसनका अन्तर्राष्ट्रिय सदस्य तथा लुम्बिनीमा रहेको चिनियाँ बौद्धगुम्बाका निर्देशक सि चोङयोङले आज ती सामग्री नेपाल ट्रान्स हिमालयन सोसाइटीका अध्यक्ष प्रा.डा. राजीवकुमार झालाई हस्तान्तरण गरे ।
लुम्बिनीमा रहेको चिनियाँ बौद्ध गुम्बाका निर्देशक तथा मास्टर सि चोङयोङ, चान ओ र चिनियाँ बौद्धगुम्बाका स्वयंसेवीहरूबाट नेपालका १ सयभन्दा बढी बौद्ध गुम्बा, विभिन्न ३० बौद्ध विद्यालय र १ हजार ५ सय बौद्धभिक्षुलाई मास्क र अन्य आवश्यक स्वास्थ्य सामग्री यसअघि नै वितरण गरिएको पनि सो संस्थाले जनाएको छ ।
नेपाललाई उपलब्ध गराउने घोषणा गरिएका १३ लाख ३७ हजार मास्क तथा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रमअन्तर्गत अहिलेसम्म नेपालमा ७ लाख ७७ हजार थान आएको र ती सामग्री केही प्रदेश तथा स्थानीय सरकारका साथै नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरूलाई उपलब्ध गराइएको निर्देशक योङले बताए ।
यसका साथै चीनका बौद्धगुम्बाहरूको संस्थाकाे तर्फबाट लुम्बिनी विकास कोषलाई एकमुस्ट रूपमा ६ लाख २० हजार सर्जिकल मास्क उपलब्ध गराइएको थियो ।
लुम्बिनीमा पहिलो सङ्क्रमित भेटिएपछि तत्कालै उक्त संस्थाले ती व्यक्ति तथा गाउँका अरु निम्न आय भएका परिवारका सदस्यका लागि आवश्यक खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
चिनियाँ बुद्धिस्ट एसोसिएसनको समन्वयमा बौद्धधर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाहरूले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर रहने जानकारी निर्देशक योङले दिए ।
नेपालमा वि.सं. २०७२ मा गएको भूकम्पपछि बौद्ध स्तुपलगायतको पुनर्निर्माण तथा सहयोगस्वरुप चिनियाँ बुद्धिस्ट एसोसिएसन र चिनियाँ बौद्धगुम्बाहरूको संस्थाका तर्फबाट १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरिएको जनाइएको थियो ।
नेपाल ट्रान्स हिमालयन सोसाइटीका अध्यक्ष प्रा. डा. झाले चीन सरकार तथा त्यहाँका नागरिक सङ्घसंस्थाहरूले नेपालमाा हाल महामारीबाट अप्ठेरो परेका बेला गरेको सहयोग अनुकरणीय रहेको धारणा राख्दै उपलब्ध सहयोगलाई अत्यावश्यकताका आधारमा नेपालका विभिन्न क्षेत्र र समुदायमा पुर्याइने बताए । रासस