काठमाडौं, ८ साउन-२६ र २७ साउनको लागि तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरि सरेको छ । महासंघका पूर्वअध्यक्षहरूसहितको पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने गरी गरेको निर्णयदेखि १५ दिनभित्र साधारणसभा गर्ने गरी निर्णय लिएसँगै महासंघको निर्वाचन पुनः सरेको हो ।
सरकारले १ भदौसम्म सभा, सम्मेलन गर्न नपाइने भनेकाले महासंघले पनि आफ्नो ५४औँ वार्षिक साधारणसभा सारेको जनाएको छ । यस विषयमा उपाध्यक्ष चन्द्र ढकालले भने असमति जनाएका छन् । उनले अहिले तोकेको समयमा नै निर्वाचन गर्नु पर्ने अडान राखेका थिए । यसका बीच पूर्वअध्यक्षहरूसहित अधिकांश पदाधिकारीले निर्वाचन अहिले तोकिएको समयमा गर्न नसकिने बताएपछि निर्वाचन सार्ने निर्णय लिइएको हो ।
महासंघले २६ र २७ गते साधारण सभा गर्ने मिति तय गर्दै स्वीकृतीका उच्च स्तरीय समितिलाई पत्राचार पनि गरेको थियो । तर, उच्चस्तरीय समितिले त्यसबारे कुनै जानकारी महासंघलाई हालसम्म नगराएको जनाएको महासंघले जनाएको छ ।
२८ चैतमा नै हुनुपर्ने निर्वाचन कोरोना र बन्दाबन्दीको नाममा ढिला गरेको आरोप १ पक्षबाट आएपछि महासंघको बैठकले पहिलोपटक ७/८ जेठ र दोस्रो पटक २६/२७ साउनलाई निर्वाचनको मिति तोकेको थियो । यस बीचमा महासंघले साधरणसभा गर्नको लागि सरकारसँग स्वीकृतसमेत मागेको अवस्थामा हालसम्म पनि स्वीकृत दिएको छैन ।