एजेन्सी, असार ५-अमेरिकाले गलवान घाँटीमा भारत र चीनका सैनिकबीच सोमबारराति भएको हिंसात्मक झडपबारे पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ट्विट गर्दै भारतीय सैनिक मारिएकोमा समवेदना प्रकट गरेका छन् ।
पोम्पेओले भनेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण मारिएका भारतीय सैनिकका परिवारमा समवेदना प्रकट गर्दछौं । शोक मनाइरहेका सैनिकका परिवार, उनीहरुका आत्मीयजन र जनसमुदायप्रति स्मरण गरिरहेका छौं ।’
भारत र चीनबीचको तनावबीच अमेरिकाले चीनसँग रहेको सम्बन्धमा देखिएको दरार कम गर्न लागेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनका शीर्ष कूटनीतिज्ञ यांग जेइचीसँग सात घन्टा बैठक गरेका छन् । दुई जनाबीच डिनर बैठक ७ घन्टा लामो भएको थियो ।
यो छलफलले सबै समाधान नभएपनि अहिलेको तनावमा कमी आउने विश्वास विज्ञहरुले गरेका छन् । यो बैठकले दुवै देशले तनाव थप बढ्न नदिन चालेको कदमका रुपमा हेरिएको छ ।
चीनले यो कुराकानी रचनात्मक भएको बताएको छ । यांगले अमेरिकालाई हङकङ, ताइवान र शिन्जियांगको विषयमा कुनै हस्तक्षेप नगर्न आग्रह गर्दै यो चीनको आन्तरिक मामला भएको बताएका थिए । पोम्पेओले चीनलाई कोरोना भाइरसको महामारीबारे चीनसँग रहेका सूचना सार्वजनिक गर्न आग्रह गरेका थिए ।