एजेन्सी, जेठ २६-न्यूजिल्याण्डमा कोरोना भाइरस संक्रमणको दर शून्यमा झरेको छ । संक्रमितको संख्या शून्यमा झरेसँगै देशभित्र लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न लागिएको छ ।
न्यूजिल्यान्डमा सोमबार मध्यरातदेखि कोरोना भाइरससम्बन्धीका सतर्कता तहहरू सबैभन्दा तल्लो तहमा पुर्याउने उद्घघोष प्रधानमन्त्री जसिन्डा आर्डर्नले गरेकी छन् । सीमा नाकाहरू बन्द नै रहनेछन् ।
न्यूजिल्याण्डमा कोरोना भाइरस संक्रमण शून्यमा पुगेपछि सार्वजनिक र निजी कार्यक्रम गर्न फुकुवा गरिएको छ । खुद्रा पसलहरू, होटल तथा रेस्टुरेन्ट, सार्वजनिक यातायात र घरेलु उडान संचालन गर्न पनि अनुमति दिइएको छ ।
प्रधानमनन्त्री आर्डर्नले अभूतपूर्व एकताबाट कोरोना भाइरसलाई जित्न सफल भएको उल्लेख गर्दै भाइरस निर्मूल पार्न निरन्तरको प्रयास आवश्यक पर्ने चेतावनीसमेत दिइन् । उनले देशमा भाइरसका नयाँ संक्रमित देखापर्ने समेत उल्लेख गरिन् । न्यूजील्यान्डमा जम्मा १ हजार ५ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो ।