काठमाडौं, ४ जेठ-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । बाँकेको नरैनापुर–५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
३० वैशाखमा भारतबाट आएका ती युवकको गएराति एक्कासि स्वास्थ्यमा समस्या आएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा उनको निधन भएको पुष्टि भएको हो ।
उनलाई कोरोना भाइरस पोजिटिभ देखिएको मन्त्रालयको भनाइ छ । ज्वरो र झाडापखाला लागेर ती युवकको आज बिहान ६ बजेर ४० मिनेटमा निधन भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या २ पुगेको छ । धुलिखेल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा १ जना सुत्केरी महिलाले ज्यान गुमाइसकेकी छन् । नेपालमा काेराेना संक्रमितको संख्या कुल २ सय ९१ पुगेको छ । जसमध्ये ३६ जना निको हुँदा २ संक्रमितको ज्यान गएको छ ।