काठमाडौं, १ वैशाख-राष्ट्रिय सभाका सदस्यले लकडाउनलाई बढाउन र सीमामा कडाइ गर्न माग गरेका छन् । आज राष्ट्रियसभाका अध्यक्षले गरेको भर्चुअल बैठकमा बोल्दै सदस्यले कोभिड-१९का थपिँदै गएका संक्रमितहरूलाई मध्यनगर गर्दै यसलाई नियन्त्रण तथा रोकथामका लागि लकडाउन बढाउनुपर्ने धारणा राखेका हुन् ।
सदस्य राधेश्याम अधिकारी खेत बाँझो राख्न नहुने भन्दै शहरमा रहेका व्यक्ति तथा विद्यार्थीको पनि परिचालन गर्न आग्रह गरे । ‘कृषिका सम्बन्धमा जनशक्ति छ कि छैन भनेर हेरर शहरका मानिसहरू विद्यार्थीलाई पनि प्रयोग गर्नु पर्छ । खेत बाँझो राख्न दिनु हुँदैन’ उनले भने ।
त्यस्तै, अर्का सदस्य रामनारण विडारी निजी अस्पताललाई पनि स्वास्थ्य सामग्री ल्याउन छुट् दिएर कोरोनाको नियन्त्रण, रोकथाम र उपचार कार्यमा लगाउनु पर्ने बताए । उनले निजी चिकित्सकलाई पनि सरकारीसरह सुविधा दिएर कोरोना भाइरसको उपचारमा परिचालन गर्ने सरकारको नीतिलाई कडाइका साथ लागू गर्नुपर्ने धारणा राखे ।