काठमाडौं, फागुन १४–यही २८–२९ फागुनमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा व्यवसायी चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । आज काठमाडौंमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उक्त कार्यक्रममा पूर्वअध्यक्षहरू चण्डी ढकाल र सुरज वैद्या उपस्थित थिए भने प्रदेश १, गण्डकी, ५, कर्णाली र सुदूरपश्चिमका अध्यक्षको पनि उपस्थिति थियो ।
उता, यसअघि नै किशोर प्रधानले पनि विराटनगरबाट वरिष्ठ उपाध्यक्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रधानलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र पूर्वअध्यक्ष पशुपति मुरारकाको समर्थन रहेको छ । आफ्नो उम्मेदवारी घोषणा गर्दै ढकालले ‘समृद्धिको आधार, राज्य र निजी क्षेत्रको साझेदार’ आफ्नो नारा भएको बताए । आफू सानो व्यवसायबाट आएकाले साना ठूला सबै व्यवसायीको समस्या र पीडा राम्ररी बुझेको उनको भनाइ थियो ।