खेर गइरहेको जमिनलाई पर्यटकीय क्षेत्र बनाउन स्थानीय सरकारको चासो - News Birat

खेर गइरहेको जमिनलाई पर्यटकीय क्षेत्र बनाउन स्थानीय सरकारको चासो

 

मोहन भट्टराई
शनिश्चरे । आजकाल देशका विभिन्न स्थानमा कृतिम रुपमा ताल, पोखरीहरु निर्माणको क्रम बढेको छ । मानिसहरुको आकर्षण पनि सिमसार क्षेत्रहरुमा बढ्दो छ । पर्यटनको राम्रो संभावना बोकेको पथरीशनिश्चरे नगरपालिकामा आधादर्जन जति सिमसारजन्य पोखरीहरु निर्माण भएका छन् ।

हरियाली सामुदायिक वन, शान्ति सामुदायिक वन, मनकामना, सिरिजंगा स्मृति धार्मिक वन, पशुपति सामुदायिक वनले वनभित्रका जरुवा पानीका मुललाई संरक्षण गर्दै सिमसार पोखरी निर्माण गरेका छन् । ती मध्ये अधिकांशको उद्देश्य पर्यापर्यटनको विकास गरी आम्दानी गर्नु नै हो भनें केही सामुदायिक वनले पोखरी निर्माण गरी माछा आम्दानी गरेका छन् । तर ती सबै पोखरीहरु पूर्वपश्चिम राजमार्गलाई आधार मानेर निर्माण भएका छन् ।

यसैबीच नगरपालिकाको दक्षिणीभेगका बासिन्दाहरुको सुविधालाई मध्यनजर गर्दै वडा नं. ८ ले प्राकृतिक रुपमा रहेको पानीको श्रोतलाई सदुपयोग गर्दै पोखरी निर्माण गर्ने योजना बनाएको छ ।

केरखा खोला किनारमा रहेको धापिलो जमिनलाई सदुपयोग गर्दै पोखरी निर्माण गरी पर्यापर्यटनको विकास गर्ने उद्देश्य रहेको वडाध्यक्ष बाबुराम दाहाल बताउँछन् । करिब २ बिगाह क्षेत्रफलमा फैलिएको बुद्ध माविको स्वामित्वमा रहेको उक्त क्षेत्रको उँचोभागमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ भनें धापीलो जमिनबाट पर्याप्त उत्पादन समेत लिन सकिएको छैन । सोही खेर गइरहेको जमिनलाई सदुपयोग गर्दै पर्यटकीय क्षेत्र बनाई आम्दानी गर्न सकिने वडाध्यक्ष दाहालको विश्वास छ ।

पर्यटकीय क्षेत्र बनाउन लागिएको उक्त स्थानको पश्चिममा केरखा खोला जोडिएको छ भनें वरिपरि डिलमा विभिन्न प्रजातिका बोटबिरुवा समेत रहेका छन् । उक्त सिमसारमा कहिल्यै नसुक्ने पानीका मुहान प्रसस्तै रहेका छन् । ‘सिमसारको दक्षिणी भागमा सामान्य बाँध बाँधेर सरसफाई मात्र गर्ने हो भनें थोरै खर्चमा आकर्षक पोखरी बन्न सक्छ’– वडाध्यक्ष दाहालले भने ‘नागबेली परेको लामो पोखरीमा डुंगा हाल्ने, पोखरीको डिलमा पिकनिक स्पट, चिल्ड्रेन गार्डेन, फलैंचा, फुल बगैंचालगायत बनाउने र पर्यटक भित्र्याउने हाम्रो उद्देश्य छ ।’

उक्त सिमसारमा अत्यन्तै दुर्लभ मानिने सेतो कमलको फुल पाइनुका साथै रातो, निलो कमलका फुलहरु प्रशस्त फुल्ने गरेको छ । धेरै प्रजातिका माछा, कछुवा, सिमकुखुरा, पानीहाँस र अन्य जलचर प्राणीहरुको पनि यो सिमसार बासस्थानको रुपमा रहेको छ ।
महेन्द्रराजमार्ग भुटानी शरणार्थी शिविरबाट करिब ७ कि. मी. दक्षिण मनमोहन गान्धी मार्ग हुँदै सखुवारा चोकबाट करिव ५ सय मिटर पश्चिममा पर्दछ यो सिमसार । उक्त स्थान शान्त अति रमणीय हरियाली वातावरण भएकोले बिभिन्न चराचुरूङीको मधूर आवाज सुन्न र प्राकृतिक सुन्दरता देख्न पाइन्छ । सोही स्थानबाट मौशम खुलेको समयमा सुन्दर हिमश्रृंखलाको दृष्य समेत हेर्न सकिन्छ ।
मोरङको पथरीशनिश्चरे–८ स्थित यस सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकारले चासो देखाएको छ । वडाले आगामी वजेटमा पर्यटकीय क्षेत्र निर्माणका लागि आवश्यक वजेट विनियोजन गर्ने तयारी गरेको छ । जसका लागि पहिलो चरणमा डीपीआर तयार गर्ने र आवश्यक वजेटका लागि नगर, प्रदेश, संघीय सरकारका साथै विभिन्न दातृ निकायहरुमा पहले गर्ने बताइएको छ ।

पथरीशनिश्चरे वडा नं. ८ को गहनाको रुपमा रहेको यस सिमसार क्षेत्र संरक्षण अभावमा पानीको पानीको मुल सुकेर सिमसार नै लोप हुने खतरा बढेको भन्दै यसको संरक्षण गरी पर्यटकीय गन्तव्यकोरुपमा विकास गर्ने स्थानीय युवाहरुको लक्ष रहेको छ । ‘यो सिमसारलाई पूर्वकै नमूना पर्यटकीय गन्तव्य बनाउने हाम्रो उद्देश्य हो’– स्थानीय युवा व्यवसायी खगेन्द्रप्रसाद लिम्बूले भनें ‘तर यसका लागि सबै क्षेत्रको सहयोग र सुझाव अनिवार्य छ ।’ सिमसारहरु हाइवेमा मात्र सिमित भएकोले ग्रामीण क्षेत्रमा पनि यसको संभावना रहेको लिम्बूको भनाई छ । सिमसार भित्र रहेका झाडी सफा गरेर दक्षिणपट्टी बाँध निर्माण मात्र गरेपनि यसको आकर्षण बढ्ने उनले बताए । पोखरी निर्माण गरेपछि सुक्न लागेको सिमसारको संरक्षण मात्र नभई वन्यजन्तु एवम् चराहरु पानी खान त्यहाँ आउने र त्यसले पनि पर्यटकहरुलाई लोभ्याउने उनको तर्क छ ।

सिमसार क्षेत्र पानीको मुख्य स्रोत हुन् । यति मात्र होइन, जलचर उभयचर, नभचर तथा वनस्पति र जैविक स्रोतको आश्रय स्थलको रूपमा पनि लिइन्छ । सिमसार क्षेत्रको महत्व धेरै भए पनि यसको संरक्षणमा त्यति धेरै चासो देखाएको पाइँदैन । त्यसैले पनि सिमसारको संरक्षणमा सर्वसाधारण र स्थानीयवासीको सहभागिता अपरिहार्य छ । पथरीशनिश्चरे क्षेत्रमा पर्ने अधिकांस सिमसार क्षेत्रहरु संरक्षणको अभावमा सुक्दै गएका छन् ।

जलवायु परिवर्तनसँगै विश्वको तापमानमा भएको वृद्धिले पानीका स्रोतहरू सुक्ने र जमिनको मरुभूमीकरण हुने प्रक्रिया तीव्र बनेको छ । हिमशृंखलाहरू तीव्र गतिले पग्लिरहेकोले आगामी ३० देखि ५० वर्षमा विश्वका केही देश पानीविहीन बन्ने खतरा रहेको छ । यसैले करिब ७० प्रतिशत जनसंख्या अत्यन्तै संवेदनशील अवस्थामा पुग्ने र जीव एवम् वनस्पतिका कैयौं प्रजातिहरू लोप हुने सम्भावना रहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । वैज्ञानिकहरूले दिएको चेतावनीप्रति समयमै सजग हुनु आवश्यक छ । सिमसारको संरक्षण र व्यवस्थापनका लागि दरिलो योजना निर्माण गरी कार्यान्वयनमा ल्याउन आक्रामक रणनीति अत्यन्तै आवश्यक छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles