विराटनगर । भन्सार जाँचपास सम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन यहाँका उद्योगी व्यवसायीहरुले सरकारलाई सुझाब दिएका छन् ।
७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा यहाँका उद्योगी व्यवसायीहरुले यस्तो सुझाब दिएका हुन् ।
यहाँका उद्योगी व्यवसायीहरूले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दरहरूको पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्रमा वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने समेत बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भन्सारका सबै गतिविधिहरूले उद्योग व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वास्थ्य व्यावसायिक वातावरण निर्माण गर्ने तर्फ निर्देशित हुन आवश्यक रहेको बताए । उनले भन्सार प्रशासनलाई अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राहीप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए ।
मोरङ ब्यापार संघका अध्यक्ष अनुपम राठीले भन्सार जाँचपासलाई सरकारले थप सहजता प्रदान गरेर अगाडी बढनुपर्ने बताए । व्यवसायीले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिएको अनुभूति गरेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजीकरणबाटै सरकारले राजस्व संकलन गर्न सक्ने उनले बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरनाले भन्सार प्रशासन अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राही प्रति उत्तरदायी भएर अगाडी बढनुपर्ने सुझाब दिए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्सारको प्रमुख उद्देश्य राजस्व संकलन नभई व्यापार सहजीकरण र निर्यात प्रवद्र्धन नै भएको बताए ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र राज ढकालले राष्ट्रिय नीति उद्योग व्यवसायको प्रवद्र्धन भएको उल्लेख गर्दै व्यवसायीहरूको मनोबल उच्च राख्ने गरी नै भन्सार प्रशासनले काम गरिरहेको बताए । उनले भन्सार प्रशासन अन्तर्राष्ट्रिय भन्सार संगठनले प्रतिपादन गरेका नीतिलाई कार्यान्वयन गर्ने, भन्सार सहजीकरण गर्ने तथा प्रविधिको उच्चतम प्रयोग गर्ने गरी नै अगाडि बढिरहेको जानकारी दिए ।
भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । भन्सार प्रमुख ढकालका अनुसार ८ माघदेखि एक हप्ताभरी विभिन्न कार्यक्रम गरिको बताए । भन्सार दिवसको अवसर पारेर शनिबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए । त्यसअघि ब्याटमिटन, भलिबल प्रतियोगिता लगायतका विभिन्न खेलहरु पनि आयोजना गरिएको थियो । उत्तः प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई आइतबार पुरस्कार वितरण गरियो । सोही अवसरमा भन्सारका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।