विराटनगर । विराटनगरमा भोली निकालिने दक्षिण एसियाकै ठूलो र पुरानो रथ यात्रा श्री राधाकृष्ण रथयात्रा रौनियार सेवा समाजका केन्द्रीय सदस्य तथा विराटनगरका संयोजक राजकुमार रौनियारले निःशुल्क सर्वद पानी र प्रसाद वितरण गर्ने भएका छन् । उनले धरान रोडको महाविर चोकमा भोली रथयात्रामा सर्वद पानी र प्रसाद निःशुल्क बाडने भएका हुन् ।
रौनियारले प्रत्येक वर्ष रथयात्राको दिन सर्वद पानी र प्रसाद बाढने गरेका छन् । यस पटक श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ५५ औँ संस्करणको रथ यात्रामा पनि सर्वद र प्रसाद बाडिने उनले बताए । उनी विराटनगर रौनियार सेवा समाजको संयोजक पनि हुन् ।
रथयात्रामा नेपालबाट मात्रै नभई भारतको बिहार, पश्चिम बङ्गाल लगायतबाट समेत भक्तालुहरु आउने गरेका छन् ।
कोरोना महामारीका कारण विगतका वर्षमा रथयात्रा प्रभावित हुँदै आएको थियो । अघिल्लो वर्ष निकालिएको रथयात्रा समेत कोरोनाकै कारण प्रभावित भएको थियो । तीन वर्ष अघि परम्परा धान्ने हिसाबले खटयात्रा मात्र निकालिएको थियो ।
यस पटक अवस्था सबै प्रकारले सहज भएकाले श्रद्धालुको सहभागिता बढ्ने भएको छ । मन्दिर परिसरबाट बिहीबार दिउँसो ३ बजेपछि रथयात्रा प्रारम्भ हुने छ । रथले मन्दिर परिसरबाट मेनरोड सहित धरानरोड हुँदै झण्डै ९ किलोमिटर दुरी तय गरी पुनः मन्दिरमा लगेर विसर्जन गरिने तयारी छ ।
यात्राका क्रममा रथलाई ४३ स्थानमा रोकिने छ । श्रद्धालु र भक्तजनका लागि रथ तान्न दुवैतर्फ ७५—७५ फिटको डोरी राखिएको छ । रथयात्राका दिन सधैँ जसो यस पटक पनि विराटनगरमा सार्वजनिक बिदा दिइएको छ ।