प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबै मिलेर अघि बढ्नु पर्ने बताएका छन् ।
शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले शहीदहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई लाग्नु पर्ने बताएका हुन् ।
उनले दिवसले शहीदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिँड्न सबैलाई प्रेरणा प्रदान गर्ने पनि विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शहीदको बलिदानले नै जनताको शासन स्थापित भएको बताएका छन् ।
‘व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुन सकेको हो,’ देउवाले भनेका छन् ।
उनले २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्तिदेखि ०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन र २०६२-६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन शहीदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको बताएका छन् ।