एजेन्सी, ७ असोज । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेकाे छ । गएराति दुबईमा भएको खेलमा हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे । यस्तै ऋषव पन्तले अविजित ३५ रन बनाए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए ।
हैदराबादका खलिल अहमेद र राशिद खानले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।
हैदराबादका अब्दुल समादले २८ रन जाेडे । रासिद खानले २२ रन बनाए । रिद्धिमान साह र केन विलियम्सनले १८/१८ रन जोडे । मनिष पाण्डेले १७ रन जोड्दा जासन होल्डरले १० रन बनाए । दिल्लीका कागिसो रबाडाले ३ विकेट लिए । एन्रिच नोर्किया र अक्षर पटेलले २/२ विकेट लिए ।
जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । ८ खेलमा मात्र २ अंक जोडेको हैदराबाद अंकतालिकाको पुछारमा छ ।
आईपीएल अन्तर्गत आज मुम्बई इण्डियन्स र काेलकाता नाइट राइडर्सबीच खेल हुनेछ । याे खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।