काठमाडौं, २ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि चर्किएको विवाद नाटकीय मोडमा पुगेको छ ।
एकले अर्कालाई निषेध गर्ने अवस्थामा पुगेका नेताहरू क्रमश नरम हुँदै सहमतिका लागि छलफल र वार्तामा बस्न थालेका छन् । पटकपटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पुनः स्थगित गरेर भोलि बिहानका लागि सचिवालय बैठक बोलाइएको छ । स्थायी कमिटी बैठक भने ४ साउनमा मात्रै बस्नेछ ।
प्रचण्ड र नेपालले ओलीले एक पदबाट मात्रै राजीनामा दिए पुग्ने नयाँ सर्त बिहीबारको बैठकमा राखेपछि नेकपाभित्रको विवाद अर्को नाटकीय मोडमा पुगेको प्रचण्डनिकट एक नेताले बताए ।
उनका अनुसार यो सर्तमा ओलीले स्पष्ट जवाफ दिइसकेका छैनन् । तर प्रचण्ड र नेपाल भने वर्तमान संकटको एक मात्र निकास ओलीको एकपदबाट राजीनामा हो भन्ने निष्कर्षमा पुगेका छन् ।
ओलीले तत्काल दुवै पदबाट राजीनामा सम्भव नभए पनि केन्द्रीय किमटी बैठकसम्म पुग्दा विचार गर्न सक्ने संकेत गरेका कारण आजका लागि दुई पटक तय भएका बैठक ४ साउनसम्म सरेको हो ।
यसबीचमा सचिवालयका नेतालाई समेत विश्वाससमा लिएर स्थायी कमिटीमा नरम रूपमा प्रस्तुत हुने, सो बैठकबाट केन्द्रीय कमिटी बैठक तय गर्ने र सोही बैठकबाट ओलीका दुई पदसहित शीर्ष नेताबीचको तिक्तताको हल खोज्ने अवस्थासम्म नेताहरू पुगेका छन् ।