मृत्युदण्डलाई जितेर आएका उमेशले १४ वर्षपछी परिवार भेटे - News Birat

मृत्युदण्डलाई जितेर आएका उमेशले १४ वर्षपछी परिवार भेटे

न्यूज विराट

जनकपुर, माघ १३–जनकपुरधाम विमानस्थलमा १४ वर्षपछि भेट भएका दम्पतीको अवस्था हेर्नलायक देखिन्थ्यो । विमानस्थलबाट बाहिरिनेबित्तिकै भएको भेटमा दुवै जना समाजको पर्वाहै नगरी अँगालोमा बेरिएर रूवाबासी गर्दै थिए । घरपरिवारका सबैले माया मारिसकेका धनुषाका उमेश साउदी अरेबियामा मृत्युदण्डबाट जोगिएर चामत्कारिक तरिकाले स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएपछि जनकपुरधाम विमानस्थलमा ओर्लिएका उमेशले श्रीमती र परिवारलाई आफ्नो आँखाको अगाडि देख्दा आफूलाई सम्हाल्नै सकेनन् ।

विदेशमा उमेशलाई अदालतबाट मृत्युदण्डको सजाय सुनाइएकाले माया मारिसकेको श्रीमान्लाई पुनः आफ्नै साथमा पाउँदा श्रीमती सञ्जु त झन् भावविह्वल बनिन् । आँखाबाट खुुसीको आँसुका धारा बगाउँदै दुवै जना निकै बेरसम्म अँगालोमा बाँधिइरहे । उक्त क्षणमा घरका सबै सदस्यको आँखामा आँसु थामिएन । साढे १ बजे भनिएको फ्लाइट डिले भएर ३ बजेतिर मात्र जनकपुर पुग्दा सञ्जु र छोराहरूमा भने छटपटाहट देखिन्थ्यो । विमानबाट झरेर बाहिरने क्रममा उमेशले आफूलाई सम्हाल्नै सकेनन् । जब उनलाई सञ्जु र छोराहरूले देखे, उनीहरू सबै जना दौडिएर अँगालो मार्न पुगे । उनीहरू धेरै बेर रोइरहे, खुसीको आँसु उमेश, सञ्जु र छोराहरूले झारिरहे ।

१३ वर्षभन्दा बढी समय श्रीमान् उमेशको पर्खाइमा बिताएकी सञ्जु आफ्ना दुई छोराहरू कमलेश र हितेशसँगै जनकपुर विमानस्थलमा पर्खिरहेका थिए । उनीसँगै उमेशका भतिजाहरू, जेठो साढु राजकरण यादव, सासू दुर्गीदेवी र आफन्तजनसमेत उमेशको स्वागतका लागि विमानस्थल कुरिरहेका थिए । उमेश झर्नुअघि नै विमानस्थल पुगेकी श्रीमती सञ्जुले भनिन्, ‘श्रीमान् आइपुग्नुभयो, योभन्दा ठूलो केही छैन ।’ अब श्रीमानसँगै बसेर छोराहरूलाई पढाउने उनको अबको योजना छ ।

सन् २००६ मा साउदी अरेबिया जाँदा छोरा हितेश १७ दिनका मात्रै थिए । जेठा छोरा कमलेश यादव चार वर्ष पुगेका थिए । उमेश विदेश गएपछि जेलमा परे । श्रीमती सञ्जु यादव माइत गइन् । कमला नगरपालिका– ३, माचीका उमेशको नयाँ जीवन मिलेको छ । उमेशको ससुरालीचाहिँ सिरहाको कर्जन्हा नगरपालिका– ७, मरेवा टोल हो । सञ्जु माइतमा ८ वर्ष बसिन् । छोराहरू दुवैलाई माइतमै लगिन् । सञ्जु त्यतिबेलाको अवस्था सम्झिन्छिन्, ‘सासूससुराले बस्छौ भने बस, माइत जान्छौ भने पनि जाऊ, तिम्रो खुसी भने, त्यसपछि छोराहरू लिएर माइत गएँ ।’

माइतमा ८ वर्ष बसेपछि छोराहरूलाई पढाउन समस्या भयो । त्यहाँबाट धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा आफ्नो भिनाजु राजकरण यादव थिए । उनी त्यहीँ बस्न थालिन् । मजदुरी गर्न थालिन् । दुवै छोरालाई पढाउन थालिन् । अहिले जेठो छोरा १७ वर्ष र कान्छो १३ वर्षका छन् । कमलेश अहिले कक्षा ८ मा महेन्द्रनगरकै प्रगति शिशुसदन बोर्डिङ स्कुलमा पढ्छन् । हितेशचाहिँ सरस्वती बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles