काठमाडौं, १८ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफ समूहका सदस्यलाई भेट्न अस्पताल पुगेका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले इनफ इज इनफ ग्रुपका अनशनकारी इशान अधिकारी ‘ई:’लगायतका युवाहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट गरेका हुन् । प्रधानमन्त्री ओली उक्त समूहका सदस्यहरूलाई भेटेर सरकार कोभिड-१९ नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको बताएको थापाले बताए।
‘प्रधानमन्त्रीज्यूद्वारा इनफ इनफ ग्रुपका अनशनकारीहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट गर्नुभएको छ । र, सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको उल्लेख गर्नुभएको छ’ उनले भने ।
विगत ७ दिनदेखि ‘ई:’लगायतका युवाहरू सत्याग्रहमा बसेका छन् । उनको स्वास्थ्यमा समस्या आएपछि आज ह्याम्स अस्पतालमा लगिएको हो । उक्त समूहले नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै पीसीआर परीक्षणको दायरा बढाउन पर्नेलगायतका माग राखेर सत्याग्रह गरिरहेका छन् ।