जनकपुर, १३ जेठ-सप्तरीका थप १ महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सप्तरीमा कोरोना संक्रतिमको संख्या १५ पुगेको छ । नयाँ संक्रमितमा सप्तरीको बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्र नमूना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १८, १९, १९, २०, २०, २१, २८ र ५६ वर्षीय पुरुष, बलान बिहुल गाउँपालिका–४ बेल्ही स्थित राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १७ वर्षीया महिला र २९ वर्षीय पुरुष तथा सुरुङ्गा नगरपालिकास्थित मसीलाल जनता माविको क्वारेन्टाइनमा बसेका २९ वर्षीय रहेका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले सप्तरीका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा पहिलोपटक २९ वैशाखमा डाकनेश्वरी नगरपालिका-३ का १८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको थियो । उनीसहित १३ जना मजदुर लकडाउनका बेला चितवनबाट ९ वैशाखमा सप्तरी गएका थिए ।
त्यसपछि भारतको हरियाणाबाट आएका बलान बिहुल गाउँपालिका-४ का ३५ वर्षीय युवकमा ९ जेठमा कोराना पोजिटिभ देखिएको थियो । श्रीमती र भाइसहित १ जेठमा आए उनी चोरबाटो हुँदै घरमा लुकिछिपी बसेकोमा गाउँलेहरूले खबर गरेपछि प्रहरीले ३ जेठमा बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित क्वारेन्टाइनमा राखेका थिए ।