एजेन्सी, जेठ २-बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । विश्वकै ठूलो रोहिंग्या शरणार्थी शिविरमा कोरोना भाइरस प्रवेश गरेपछि त्यसले ठूलो संकट ल्याउन सक्ने चेतावनी दिइएको छ ।
शरणार्थी शिविरमा बसिरहेकाहरु सफा पानी र खानाको समय समस्या झेल्दै आएका छन् । रोहिंग्या शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पहिलो घटना हो ।
भिडभाडका कारण सरसफाई नभएको शरणार्थी शिविरमा कोभिड–१९ संक्रमणपछि रोहिंग्या शरणार्थी रहेका स्थानहरूमा संक्रमण फैलिन पुगेमा यो भयाबह अवस्थामा पुग्ने भन्दै स्वास्थ्यविद्हरूले चासो व्यक्त गरेका छन् ।
शिविरमा रहेका शरणार्थीमा संक्रमण पुष्टि भएपछि दुबै व्यक्तिलाई एकान्तमा राख्ने व्यवस्था गरिएको, शिविरमा अन्य व्यक्तिहरूको परीक्षण तयारी गरिएको र रोकथामका उपायहरूलाई अवलम्वन गरिएको स्थानीय स्वास्थ्य संयोजक अबु भुईयानले बताए ।