काठमाडाैं, ११ वैशाख-सरकारले छिमेकी मुलुकहरूमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लकडाउन खोल्ने विषयमा निर्णय हुने बताएको छ । कोरोना संक्रमणको जोखिम नेपालमा पनि यथावत् रहेकाले लकडाउन खोल्ने निर्णय एकपक्षीय रूपमा गर्न नसकिने सरकारले बताएको हो ।
छिमेकी मुलुकहरूमा कोरोना नियन्त्रण र जोखिमको अवस्था हेरेर लकडाउन खोल्ने/नखोल्ने विषयमा निर्णय हुने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।
उनले भने, ‘छिमेकी मुलुकहरूमा कोरोना नियन्त्रण र जोखिमको अवस्था नहेरी एकपक्षीय ढंगले निर्णय गर्ने अवस्था रहँदैन ।’लकडाउनको समयमा खुला सिमानाका कारण लुकीछिपी नेपाल प्रवेश गर्ने गरेको पाइएको उनले बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लुकीछिपी नेपाल आउनेहरूका कारण पनि नेपालमा कोरोना संक्रमणको जोखिम बढेको बताए ।