जनकपुर, ८ वैशाख-कुहिएको दाल राहतमा बाँडेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिकाका ३ जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वडा नम्बर ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, १३ नम्बरका वडाध्यक्ष राजनप्रसाद कुर्मी र २६ नम्बरका वडाध्यक्ष महेश साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका बाराले जनाएको छ ।
योसँगै यस्तो प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । यसअघि कोल्ड स्टोरमा दाल भण्डारण गर्ने धनलक्ष्मी दाल मिलका सञ्चालक (उद्योगी) तेजकरण जैन, कोल्ड स्टोर रेखदेख गर्ने मुन्सीकुष्ण यादव, वडा १ का अध्यक्ष हरिओम साह सोनार, वडा नम्बर ७ का वडाध्यक्ष सर्फुलाह अन्सारी र वडा नम्बर २० का सचिव खेदु मियाँ अन्सारी पक्राउ परिसकेका छन् ।