सिन्धुलीकोकमलामाई नगरपालिकाले हालसम्म ३ सय घरपरिवारलाई राहत प्रदान गरेको छ ।लकडाउनका कारण समस्यामा परेका घरपरिवारको पहिचान गरी राहत वितरण गरिएको हो ।
नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीका अनुसार लकडाउन अवधिमा आफ्नो श्रम व्यवसाय नचली दैनिक गुजारा गर्न कठिनाइ भएका र मापदण्ड पूरा भई सम्बन्धित वडाको सिफारिस भई आएका घरपरिवारलाई राहत प्याकेज उपलब्ध गराइने छ ।
शनिबार बसेको स्थानीय विपद् व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकले वडाबाट सिफारिस भई आएका परिवारलाई राहत दिने निर्णय गरेको थियो ।
नगरपालिकाले यसअघि ७६ घरपरिवारलाई राहत प्याकेजअनुसार प्रतिव्यक्ति २० केजी चामल, ३ केजी दाल, १ केजी चिनी, २ केजी आलु, ५० ग्राम बेसार, १ लिटर तेल र १ केजी नुन प्रदान गरेको थियो ।
श्रमिक तथा अतिविपन्न परिवारको चुलो निभ्न नदिन कमलामाई सचेत रहेको र त्यस्ता व्यक्तिलाई तत्कालै राहत उपलब्ध गराउने पक्षमा आफू रहेको प्रमुख खत्रीले बताए ।
हाल विद्यमान कोभिड–१९ को महामारीको कारणबाट नगरपालिका क्षेत्रभित्र राहत वितरणका लागि खाद्यान्न आपूर्तिका लागि डोकानिया ब्रदर्ससँग सम्झौता भएअनुसार भुक्तानी दिँदा धरौटीवापत पाँच प्रतिशत रकम कट्टा गर्ने र सम्झौतानुसार तत्काल ५ सय प्याकेज राहत सामग्री माग गर्ने तथा आवश्यक भएमा थप माग गर्नेसमेत निर्णय भएको उनले जानकारी दिए । रासस