जनकपुर, माघ २७–समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान संविधानले संरचनागत विभेदलाई संस्थागत गरेको हुँदा संशोधनको विकल्प नरहेको बताए ।
उनले वर्तमान संविधानको संघीय प्रणाली, निर्वाचन प्रणाली, शासकीय स्वरुप र न्याय प्रणालीसमेत अपूर्ण र विरोधाभाषपूर्ण रहेको टिप्पणी गर्दै यथास्थितिमा देशप्रति सबै जात, धर्म, क्षेत्र र वर्गले अपनत्व ग्रहण गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे । उनले भने, ‘यो संविधान न त संविधानसभाले जारी गरेको छ, न त यसले जनताको समर्थन प्राप्त गरेको छ । दुई÷चार जनाले ड्राफ्ट गरेको किताबलाई ह्विप लगाएर पास गराइएको छ । त्यसैले यो संविधानप्रति जनताले अपनत्व ग्रहण गर्न सकिरहेका छैनन् ।’ पद्म शम्शेरले मुलुकलाई दिएको संविधान र अहिलेको संविधान जारी गर्ने प्रक्रियामा तात्त्विक भिन्नता नरहेको उनको टिप्पणी थियो ।