विराटनगर । स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित प्रहरीले प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विराटनगरबाट शुक्रबार दिउँसो भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले श्रीवास्तवलाई विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिरनजिकबाट नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा सवार रहेका उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँ बरामद भएको जोशीले बताए । उनका अनुसार श्रीवास्तवको साथबाट नेपाली ५ सय रूपैयाँ दरको ४ सय र १ हजार रूपैयाँ दरको ५ सय थान नोट बरामद भएको छ ।
अवैध रकम बरामद भएपछि उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । श्रीवास्तवलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ ।
उनले उक्त नोट कहाँबाट ल्याएका हुन् भन्ने यकिन भइसकेको छैन । इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ ।