विराटनगर । विराटनगर – २ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सक्षम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर–२ का अन्दाजी २८ वर्षीय सापकोटा आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी हानेर फरार भएका थिए । फरार भएका सापकोटालाई आज विहान नेपाल–भारत सीमा क्षेत्रनजिकबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । सापकोटाले बिहीबार राति करिब ८ः३० बजेतिर गुप्तालाई खुकुरी हानेका थिए । घाँटीमा चोट लागेका घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । सुरुमा कोशी अस्पताल लगिएकोमा त्यहाँबाट रेफर गरेर विराट नर्सिङ होम लगियो । विराटले पनि रेफर गरेपछि नोबेल पुर्याइएको हो । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गुप्ताले सापकोटाको घरमा काम गर्ने गरेको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ । आपसी विवादमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीको भनाइ छ ।
यद्यपि, प्रहरीले उनीहरुबीचको विवाद कस्तो प्रकृतिको हो भनेर खुलाएको छैन ।
घरअगाडि खुकुरी प्रहार गरेका सापकोटा भान्सा कोठामा लुकेर बसेका थिए । प्रहरी पुग्नसाथ कोठाकै अर्को ढोकाबाट निस्किएर फरार भएका हुन् ।
‘घटनापछि भारततिर भाग्दै रहेछन् । भारत जान नपाइनकन सीमा क्षेत्रबाट पक्राउ गरिएको छ । २ जनाबीचको विवादपछि खुकुरी हानेको देखिन्छ । तर, किन र के कारणले विवाद भयो भनेर खुलेको छैन । घटनामा संलग्न व्यक्ति लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ,’ डिएसपी जोशीले भने ।