विराटनगर । विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप तीन जना पक्राउ परेका हुन् ।
प्रहरीले विराटनगर १५ का ४१ वर्षीय अजय कुमार शर्मा, भद्रपुर नगरपालिका १ घर भई धरान उपमहानगरपालिका ८ मा बस्दै आएका प्रकाश लिम्बु र धरानका ३१ वर्षीय सुजन तामाङलाई शुक्रवार पक्राउ गरेको सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए । पक्राउ परेका मध्ये अजय अवैध हतियार कारोबारी रहेको एसपी दाहालले बताए ।
अजयले पेस्तोल ४० हजारमा लुटपाट गर्ने समूहलाई बिक्री गरेको खुलेको छ । प्रकाश र सुजनले रोहितसँग गएका किशोरीलाई खुकुरी देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
साउन ५ गते बेलुका ५ः१५ बजेतिर इटहरी उपमहानगरपालिका २० सेउती पुल नजिकको जङ्गलमा रोहित चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटपाट गरेका थिए । लुटपाट गर्ने क्रममा रोहितले प्रतिकार गरेपछि लुटेरा समूहले उनलाई गोली हानेका थिए । घाइते भएका रोहितको सोही दिन बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
प्रहरीले रोहितको हत्या भएको १२ दिनेपछि गिरोहका मुख्य नाइके दिपकसहित तीन जनालाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । यसअघि प्रहरीले लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीय दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेको दुई दिनपछि थप तीन जना पक्राउ परेको हो । यस घटनामा पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको छ । यो घटना अनुसन्धान तथा प्रतिवाधि पक्राउका लागि कोशी प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त टोली परिचालन गरिएको छ ।