विराटनगर । विराटनगर – ८ हाटखोलास्थित दोस्रो विराट राजवंशी महोत्सव हुने भएको छ । विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगरमा आउँदो असोज १० देखि २१ गतेसम्म महोत्सव हुने भएको हो ।
आयोजक समितिले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी दोस्रो विराट राजवंशी महोत्सवको तयारी सुरु गरिएको जानकारी गराएको छ । विराट राजवंशी समुदायका भाषा, संस्कृति तथा मौलिक संस्कृतिको संरक्षण गरिनु उद्देश्यले महोत्सवको गरिने तयारी गरिएको विराट राजवंशी प्रगतिशील विकास समाज समितिका अध्यक्ष किरण राजवंशीले जानकारी दिए ।
महोत्सवमा राजवंशी समुदायका मौलिक खानाको परिकारहरू, भेष भाषा, संस्कृति पहिरनको साथै बालबालिका तथा युवाहरूको लागि मनोरञ्जन कार्यक्रमको पनि स्टल रहने भएको छ । ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६० वटा स्टल रहनेछ । करिब ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्य रहेको छ । महोत्सवमा सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
महोत्सवलाई थप आकर्षण बनाउन राष्ट्रिय स्तरका कलाकारदेखि स्थानीय कलाकारहरूको पनि दैनिक प्रस्तुति रहने भएको छ ।