काठमाडौं, ६ फागुन । ओमानमा शुक्रबार सुरु भएको विश्वकप टी–२० क्रिकेट ग्लोबल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार ओमानको अल अमरेत मैदानमा नेपालले घरेलु टोली ओमानलाई पराजित गर्दै प्रतियोगिताको शुखद् सुरुवात गरेको हो । नेपाल ३९ रनले विजयी भएको हो ।
पहिला ब्याटिङ गर्दै नेपालले ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको ओमानले ७८ रन बनाउँदा अल आउट भयो । बलर हाबी भएको खेलमा नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट र दिपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए । जितेन्द्र मुखिया र अभिनाष बोहाराले एक एक विकेट लिए ।
यो जितपछि नेपालको सेमिफाइल सम्भावना बलियो बनेको छ । ग्लोबल छनोटका लागि ८ टिमबीच प्रतिस्पर्धा भइरहेको छ । ८ टिमलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।
अब नेपालले शनिबार फिलिपिन्ससँग खेल्नेछ । समूह चरणको अन्तिम खेल नेपालले सोमबार क्यानडासँग खेल्नेछ। शनिबारको खेल जितेमा नेपाल सेमिफाइलमा लगभग पुग्नेछ।
एक समूहबाट शीर्ष दुई टिम सेमिफाइल पुग्नेछन् । सेमफिाइलमा जित हात पारे नेपाल २०२२ को अन्त्मिमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछ ।