विराटनगर , १७ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत विराटनगर महानगरको सभापतिमा दिपक चापागाई निर्वाचित भएका छन् ।
निकटतम प्रतिष्पर्धी सन्तोष न्यौपानेलाई ४७ मत अन्तरले पराजित गर्दै चापागाई सभापतिमा निर्वाचित भएका हुन । सभापतिमा निर्वाचित चापागाई डा. शेखर कोइराला निकट हुन ।
उनले संस्थापन पक्ष निकटका न्यौपानेलाई पराजित गरेका हुन । न्यौपानेले १६५ मत प्राप्त गरे । महानगर सभापतिका लागि चारजना वीच प्रतिष्पर्धा भएको थियो । संस्थापनबाट न्यौपाने मात्र थिए । पौडेल–कोइराला समूहबाट अरुण न्यौपाने र कृष्ण कार्की थिए । कार्कीले १३३ र न्यौपानेले १२७ मत ल्याए ।
आईतबार विहान घोषित अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा कोइराला समूहबाट इन्दु सुवेदी खतिवडा र निरज कोइराला, सचिवमा संस्थापनकी झुमा निरौला र कोइराला समूहका तेजिन्द्र भट्टराई, सहसचिवमा दिवस नेपाल कोइराला र सचिन पोखरेल संस्थापन समूहबाट निर्वाचित भएका हुन । महानगर अधिवेशनमा ६८१ मतदाता मध्ये ६६४ जनाले मतदान गरेका थिए ।
प्रदेश १ को एक मात्र महानगरको नेतृत्वको लागि संस्थापन र कोइराला समूहले प्रतिष्ठाका रुपमा लिएका थिए । एक महानगर र दुई उपमहानगर धरान र इटहरीमा संस्थापन इतर समूह नेतृत्वमा पुगेको छ ।