काठमाडौं, ७ भदौ । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपा एमालेले केन्द्रदेखि टोलसम्मका सबै पुराना कमिटी बिउँताउने भएको छ ।
१० बुँदे सहमति कार्यान्वयनको थप मोडालिटी तय गर्न भोलि मङ्गलवार नै स्थायी कमिटीको बैठक बस्ने र केही दिनमै केन्द्रीय कमिटीको बैठक पनि बस्ने नेता भट्टराईले बताउनुभयो ।आजको छलफलमा अध्यक्ष ओलीले आफूले पार्टीका सबै नेतालाई समान व्यवहार गर्ने, पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार रहेको र नेताहरूलाई पुरानै जिम्मेवारी दिन तयार रहेको बताउनुभएको थियो ।
एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक बस्न लागेको बताउनुभयो । उहाँले अब एमाले एकताबद्ध रहेको र केही व्यक्ति बाहिरिए पनि आमरूपमा पार्टी एक ठाउँमा उभिने बताउनुभयो ।