काठमाडौं, २० जेठ । संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने भन्ने उल्लेख छ ।
नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन्ने कुरा उल्लेख छैन । ह्वाइट हाउसको पत्रमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने उल्लेख छ ।
नेपालले प्राप्त गर्ने खोपको परिमाण भने केही समयमै टुंगो लाग्ने जनाइएको छ । गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गरेकी थिइन् ।
अमेरिकाले आगामी जुनभित्र ८० मिलियन डोज खोप उपलब्ध गराउने योजनाअनुरुप पहिलो चरणमा २५ मिलियन डोज खोप प्राप्त गर्ने मुलुकको सूची सार्वजनिक गरेको हो ।
अमेरिकाको यो खोप वितरण खाका अनुसार ७५ प्रतिशत खोप कोभ्याक्स संयन्त्रमार्फत वितरण हुने भएको छ । अमेरिकाले नेपाल, भारतसहितका १६ एसियाली मुलुकलाई ७ मिलियन डोज, दक्षिण तथा मध्य अमेरिकी मुलुकको लागि ६ मिलियन, अफ्रिकी मुलुकको लागि ५ मिलियन खोप वितरण गर्ने जनाएको छ । अमेरिकाले आफूसँग स्टकमा रहेको आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोर्डना खोप वितरण गर्न लागेको हो ।