विराटनगर, २७ चैत । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले शपथ ग्रहण गरेका छन् । आङ्बुहाङ माओवादी केन्द्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । माओवादी केन्द्रले कारबाही गर्दै सांसद पदबाट हटाएपछि स्वतः पदमुक्त भएपछि मुख्यमन्त्री राईले शुक्रबार उनलाई पुनर्नियुक्त गरेका थिए । उनलाई संविधानको धारा १७० को उपधारा (१) बमोजिम मुख्यमन्त्री राईले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
मन्त्री आङ्बुहाङलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले र पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री राई, प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, प्रदेश सरकारका मन्त्रीलगायतको उपस्थिति रहेको थियो ।
मन्त्री आङ्बुहाङलाई नेकपा (माओवादी केन्द्र)को कारबाही गरेको थियो । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार माओवादीबाट एमाले प्रवेश गरेका आङ्बुहाङलाई मन्त्री नियुक्त गरिएको जनाइएको छ ।
निर्वाचित भएको दलत्याग गरेको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई संसद्बाट हटाउन सभामुखलाई पत्र पठाएको थियो । सोही पत्रअनुसार सभामुख भण्डारीले बिहीबार प्रदेशसभाको बैठकमा आङ्बुहाङलाई सांसदबाट हटाउन माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गरेको पत्र पढेर सुनाएपछि उनी सांसद पदबाट मुक्त भए । सांसद पदमुक्त भएपछि उनको मन्त्री पदसमेत स्वतः गुमेको थियो । मख्यमन्त्रीले पुनर्नियुक्ति दिएपछि उनी अब ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछन् ।