एजेन्सी, १९ पुस-भारतमा बनाइएका कोरोना भाइरसविरुद्धका दुईवटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । भारत बायोटेकको कोभ्याक्सिन र सिरम इन्स्टिच्युटको कोभिशिल्डलाई आपतकालीन प्रयोगका लागि ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले स्वीकृति दिएको हो ।
यसैगरी, जायडस क्याडिला हेल्थकेयरको जायकोभ–डीको पनि तेस्रो चरणको परीक्षण पूरा भएको छ । डीसीजीआईले पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो ।
यसमा पनि केही साइड इफेक्ट देखिनेछ । हल्का ज्वरो, दुखाइ र एलर्जी हरेक खोपमा सामान्य रूपमा देखिने तर खोप शतप्रतिशत सुरक्षित रहेको बताइएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको खोपले मान्यता पाउनु हरेक भारतीय नागरिकका लागि खुसी र गर्वको कुरा भएको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले पनि खोप स्वीकृति दिएकोमा स्वागत गरेको छ । डब्लूएचओको साउथ–इस्ट एसिया रिजनल डाइरेक्टर डा. पुनम क्षेत्रपाल सिंहले भारतको यो निर्णयबाट यो क्षेत्रमा महामारीविरुद्धको लडाइँ बलियो हुने विश्वास व्यक्त गरेकी छिन् । कोरोना भाइरसविरुद्धको खोपले स्वीकृति पाएसँगै अब आगामी सातादेखि भारतमा खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
भारतका तीनवटा कम्पनीले आपतकालीन प्रयोगका लागि स्वीकृति मागेका थिए । अमेरिकी कम्पनी फाइजरले बनाएको खोपको भने तथ्यांक मागेको छ । डब्लूएचओले यो खोप प्रयोगका लागि अनुमति दिइसकेको छ ।