काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा समर्थनको प्रस्ताव गरेका छन् । नेता ईश्वर पोखरेलमार्फत ओलीले उपाध्यक्ष गौतमलाई समर्थनको प्रस्ताव गरेका हुन् ।
उपाध्यक्ष गौतमलाई भेट्नका लागि नेता पोखरेल साँझ भैँसेपाटी पुगेका थिए । भेटमा नेता पोखरेलले सचिवालयमा जाने काउन्टर प्रस्तावमा समर्थन जनाउनका निम्ति आग्रह गरेको उपाध्यक्ष गौतमको सचिवालयले जानकारी दिएको छ ।
जवाफमा उपाध्यक्ष ओलीले पार्टी एकतामा बाधा पुग्ने कुनै पनि गतिविधिमा आफूले सहमति नजनाउने जवाफ दिएको गौतमको सचिवालयले जनाएको छ । ‘पार्टी एकताको पक्षमा आफूले यसअघि नै ६ बुँदे प्रस्ताव अघि सारेकाले त्यहीअनुसार अघि बढ्नुपर्ने सन्देश उहाँले दिनुभएको छ कुनै पनि प्रतिवेदनको पक्षमा आफू नखुल्ने सन्देश उहाँको छ,’ गौतमको सचिवालयका एक सदस्यले शिलापत्रसँग भने ।
गौतम सकंटको समयमा ओलीसँग निरन्तर उभिएका पात्र हुन् । तत्कालीन एमालेमा रहँदा ओलीलाई अध्यक्ष बनाउनेदेखि २०७० सालमा अध्यक्ष झलनाथ खनाल र केपी ओलीबीच संसदीय दलको नेता चयनमा प्रतिस्पर्धा हुँदा गौतमले ओलीलाई साथ दिएका थिए । पछिल्लो समय नेकपाभित्र एक व्यक्ति एक पदको माग राख्दै विवाद चर्किएपछि बामदेव गौतमले ६ बुँदे प्रस्तावअघि सार्दै ओलीको सत्ता संकट टारिदिएका थिए ।
तर, ओलीबाट भने उनले निरन्तर धोका पाउँदै आएका छन् । पछिल्लो समय राष्ट्रियसभाको सदस्यमा गौतमलाइ मनोनयन गर्ने विषयमा समेत ओली गौतमप्रति सकरात्मक थिएनन् । सचिवालयमा रहेका बहुमत सदस्यले ओलीलाई दबाब दिएपछि उनी गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन बाध्य भएका थिए ।
पार्टीभित्र संकट परेको समयमा ओलीले गौतमलाई गुहार्ने गरेका छन् । यसअघि पनि मन्त्रिपरिषद्मा यथोचित स्थान दिने भन्दै ओलीले गौतमलाई फकाउने कोसिस गरेका थिए । हाल पनि नेता पोखरेलमार्फत त्यही प्रस्ताव गएको गौतमको सचिवालयले जनाएको छ । त्यसको जवाफमा गौतमले अध्यक्ष ओलीले पहिले स्वेच्छाचारी शैली सच्याउनुपर्ने माग राखेका छन् ।
नेकपाको सचिवालय ९ सदस्यीय छ । जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा बहुमत छ । प्रचण्डको पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् ।
अहिले प्रचण्ड पक्षको प्रतिवेदन आएपछि ओली पक्षले काउन्टर प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । दुवैका प्रतिवेदनमा एक अर्काप्रति आरोप प्रत्यारोप समावेश छन् । शनिबार बिहान १ बजे नेकपाको सचिवालय बैठक बोलाइएको छ । नेकपाको सचिवालय बैठकमा प्रतिवेदनलाई लिएर आरोप-प्रत्यारोप चलिरहेको छ ।