जिल्ला प्रशासन कार्यालयको सहमतिमा साँझ ७ बजेदेखि हुँदै आएको बोकाबलि राति साढे ११ बजेसम्म चलेको थियोे । मन्दिरमा बलिको लागि महावीर युवा कमिटीले चार वटा ठेहाको व्यवस्था मिलाएको थियो । कमिटीका अनुसार प्रत्येक ठेहामा एक मिनेटमा औसत ३० देखि ३५ वटासम्म बोका बली दिइएको छ ।
कोरोना महामारीका कारण केही दिनअघि जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बोकाबलि नहुने भन्दै सूचना समेत जारी गरेकोमा पछि प्रशासनकै सहमतिमा बलि प्रथालाई निरन्तरता दिइएको महावीर युवा कमिटीले जनाएको छ ।
प्रशासनले बोकाबलिमा रोक लगाउने निर्णय गरेपछि स्थानीयको दबाब तथा धार्मिक दंगा हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय आफ्नो निर्णयबाट पछि हटेका थिए ।
श्रद्धालुले कोरोना महामारीकाबीच प्रशासनले जिल्लाभर बलि नचढ्ने सूचना जारी गरेकोले यसवर्ष बोकाबलि हुने वा नहुने भन्ने अन्योलताका कारण शून्य समयमा आएर भएको बोका बलिले अन्य वर्षको तुलनामा यो वर्ष कमी आएको महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले बताए ।
यसअघिका वर्षमा राजदेवी मन्दिरमा महाष्टमीमा १४ हजारदेखि १५ हजारसम्म बोकाबली हुने गरेको थियो । यस वर्ष कोरोना महामारीका कारण बोकाबली हुने नहुने संशय र छिमेकी भारततर्फका श्रद्धालुहरू आउन नसकेपछि संख्या घटेको हो ।
राजदेवी मन्दिरमा बोकाबलि चढाइएको पछिल्लो तथ्यांकअनुसार २०६५ सालमा ११ हजार १३४, २०६६ सालमा ११ हजार ७ सय ९०, २०६७ सालमा १३ हजार ५ सय ५२, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०७० सालमा १४ हजार ८ सय ६१, २०७१ सालमा १४ हजार ७ सय २२, २०७२ सालमा १३ हजार ८ सय १, २०७३ सालमा १४ हजार ६ सय १७, २०७४ सालमा १२ हजार ३ सय ७, २०७५ सालमा १४ हजार ९ सय ९७ वटा बोका बलि दिइएको थियो ।
त्यस्तै गत वर्ष १४ हजार ६ सय ३३ वटा बोका बलि प्रदान गरिएको थियो । कोरोना संक्रमणको सम्भावित जोखिमलाई हेरेर कतिपय स्थानीयले यस वर्ष बोकाबलि नगर्न सुझावसमेत दिएका थिए भने कतिपयले वर्षौँदेखिको परम्परा र आस्थासँग जुडेको रहेको भन्दै पक्षमा उभिएका थिए ।