एजेन्सी, साउन २८-आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएका छन् । अमेरिकी उपराष्ट्रपति पदको उम्मेदवार बन्ने उनी पहिलो अश्वेत महिला हुनेछिन् । उनी भारतीय–जमाइका मूलकी हुन् ।
यसअघि दुई पटक मात्रै अमेरिकी उपराष्ट्रपतिमा महिला उम्मेदवार खडा भएका थिए । सन् २००८ मा रिपब्लिकन पार्टीबाट सारा प्यालिन उपराष्ट्रपति पदको उम्मेदवार बनेकी थिइन् भने सन् १९८४ मा डेमोक्रेटिक पार्टीले गिरालडिन फेरारोलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । तर, दुवै चुनावमा पराजित भएका थिए ।
अमेरिकाको इतिहासमा दुवै पार्टीले हालसम्म कुनै अश्वेत महिलालाई उम्मेदवार बनाएका छैनन् भने अमेरिकामा महिलाले राष्ट्रपति निर्वाचनमा जित हात पारेका छैनन् ।
क्यालिफोर्नियाकी सांसद कमला ह्यारिस राष्ट्रपति पदका लागि उम्मेदवार बन्न जो बाइडेनसँगै प्रतिस्पर्धामा थिइन् । तर उनी राष्ट्रपति पदको दौडबाट बाहिर भएपछि पनि जो बाइडेनले उपराष्ट्रपतिको उम्मेदवार बनाउने विषयले चर्चा पाएको थियो ।
क्यालिफोर्नियाको महान्यायाधिवक्तासमेत भइसकेकी उनी प्रहरीमा सुधारको पक्षपाती हुन् । जो बाइडेनले आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नेछन् ।
हालका उपराष्ट्रपति माइक पेन्स एकपटक ट्रम्पसँगै उपराष्ट्रपति पदका उम्मेदवार हुनेछन् । बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार घोषणा गर्दै कमला ह्यारिस एक बहादुर योद्धा र अमेरिकाको एक असल सेवक भएको बताएका छन् ।
उपराष्ट्रपति पदको उम्मेदवार बनेपछि उनले बाइडेनलाई धन्यवाद दिएकी छन् । उनले भनेकी छन्, ‘बाइडेनले अमेरिकी जनतालाई एक बनाउन सक्नुहुन्छ, किनकि उहाँले हाम्रा लागि लड्दालड्दै आफ्नो पूरै जीवन बिताउनुभएको छ र राष्ट्रपतिका रूपमा हाम्रो आदर्शमा खरो उत्रिने अमेरिका बनाउनुहुनेछ ।’
उनले आफू उपराट्रपति पदको उम्मेदवार हुनुकाे नाताले बाइडेनलाई राष्ट्रपति बनाउनका लागि सक्दो भूमिका खेल्ने प्रतिवद्धता जनाएकी छन् । बाइडेनको चुनावी अभियानका अनुसार बाइडेन र कमला ह्यारिसले बुधबार डेलवेयरमा चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जो बाइडेन र कमला ह्यारिस एकसाथ आएकोमा निराशा व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘अमेरिकाका लागि गलत हो ।’