काठमाडौं, ६ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त हुने भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला बिहीबार जेलमुक्त हुने भएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई ८ वर्ष ६ महिना मात्र कैद सजाय हुने फैसला गरेपछि उनी जेलमुक्त हुन लागेका हुन् ।
यसअघि रञ्जनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादले ७ वैशाख २०७१ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । उच्च अदालत पाटनले समेत २३ मंसिर २०७२ मा कोइरालाको सर्वस्वसहितको फैसलालाई सदर गरेको थियो । तर, सर्वोच्चले उनको कैद सजाय घटाएको हो ।
कारागार विभागले कोइरालालाई बिहीबार जेलमुक्त गर्ने पत्र डिल्लीबजार कारागारलाई पठाइसकेको कारागारका जेलर गणेश आचार्यले जानकारी दिए ।