काठमाडौं, ३ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्व्यवहार गर्ने १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको वाराणसी (बनारस) प्रहरीका अनुसार पक्राउ पर्नेमा सन्तोष पाण्डे रहेका छन् । विश्व हिन्दु सेनाका कार्यकर्ताले बनारसमा १ नेपालीलाई नियन्त्रणमा लिएर जबरजस्ती कपाल मुण्डन गरेर टाउकोमा श्रीराम लेख्नुका साथे प्रधानमन्त्री ओलीविरुद्ध समेत नारा लगाउन भनेका थिए ।
नेपालीमाथि दुर्व्यवहार गरेको भिडियो विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमामा अपलोड गरेपछि भाइरल भएको थियो । त्यसपछि प्रहरीले पाठकसहितका व्यक्तिविरुद्ध भेलुपुर थानामा एफआईआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । सो क्रममा सन्तोष पाण्डे नामका १ युवक पक्राउ परेको बनारस प्रहरीले जनाएको छ ।