काठमाडौं, २ साउन-निजी क्षेत्र र बैंकरहरूको पटक-पटकको मागपछि नेपाल राष्ट्र बैकले कर्जा-पुँजी-निक्षेप कायम गर्नुपर्ने अनुपात (सीसीडी रेसियो) बढाएको छ । सीसीडी रेसियो कायम गर्दा ठूलो रकम लगानी गर्न नपाएको गुनासो बैंकरहरूले बताइरहेको अवस्थामा राष्ट्र बैंकले कायम गर्नुपर्ने ८० प्रतिशतको सीमालाई बढाएर ८५ प्रतिशत पुर्याएको हो ।
चालू आर्थिक वर्षम मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले सीसीडी रेसियो ८५ प्रतिशतमा पुर्याइएको बताएका हुन् । बैंकरहरूले सीसीडी रेसियो कायम गर्नुपर्ने व्यवस्था नै हटाउन माग गरे पनि राष्ट्र बैंकले केही खुकुलो गर्दै ५ प्रतिशत वृद्धिको योजनाअघि सारेको हो ।
विगतका वर्षहरूमा करिब ८० प्रतिशत रेसियोसम्म नै सीसीडी रेसियो पुग्ने गरेकोमा गत अहिले भने बैंक तथा वित्तीय संस्थाहरूमा औषत ७४ प्रतिशतको सीसीडी कायम रहेको छ । कोरोना महामारी र लकडाउनको कारण अहिले ७४ प्रतिशतसम्म रहे पनि भविष्यम हुनसक्ने कर्जाको मागलाई सम्बोधन गर्दै राष्ट्र बैकले सीसीडी रेसियोको सीमा बढाएको हो ।