सुर्खेत, १ असार-कर्णाली प्रदेश सरकारले कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पर्वतीय विश्वविद्यालय स्थापना गर्ने जनाएको हो ।
प्राविधिक जनशक्ति उत्पादनका लागि कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।
त्यस्तै, मध्यपश्चिम विश्वविद्यालयलाई शिक्षनको गुणस्तर विकास र अनुसन्धानका लागि भाइरोलोजी ल्याव स्थापनाका लागि १० करोड बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताए । कर्णाली प्रदेश सरकारले हिमाली तथा पहाडी जिल्लामा आवासिय विद्यालय निर्माण गर्ने मन्त्री ज्वालाले बताए ।
त्यस्तै एक निर्वाचन क्षेत्र एक प्राबिधिक शिक्षालय र प्रदेश राजधानी सुर्खेतमा अपाङ्गता विद्यार्थी र दलित विद्यार्थीका लागि विषेश छात्रावास निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ । यसका लागि २८ करोड १० लाख रकम विनियोजन गरिएको छ ।