काठमाडौं, १८ जेठ-संविधान दोस्रो संशोधन विधेयकमा कुनै पनि दलले विरोध नजनाएपछि संसदमा छलफलका लागि बाटो खुल्ला भएको छ । सभामुख अग्नि साप्कोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पेस गरेको नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ विरोधको सूचना प्राप्त नभएको भन्दै संसदमा छलफलका लागि अनुमति दिएका छन् ।
संविधान संशोधन विधेयक संसदमा पेस गर्न सभामुख साप्कोटाले अनुमित दिएलगत्तै मन्त्री तुम्बाहाङ्फेले नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ लाई प्रस्तुत गरेकी थिइन् । ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु,’ मन्त्री तुम्बाहाङ्फेले भनिन् ।
मन्त्री तुम्बाहाङ्फेले विधेयक सदनमा टेबुल गरेलग्तै दोस्रो संशोधन प्रस्तावमा विरोधको सूचना प्राप्त नभएकाले उक्त विधेयकमाथि छलफल गर्न बैठकको अनुमति प्राप्त भएको सभामुख साप्कोटाले घोषणा गरेका थिए । ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधिसभा नियमावली २०७५ को नियम १०४ बमाेजिम विरोधको सूचना प्राप्त नभएकाले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ प्रस्तुत गर्न बैठकको अनुमति भएको घोषणा गर्दछुु,’ उनले भने ।