दाङ, जेठ ३-तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा १३ जनाको उपचार भइरहेको छ । उक्त अस्पतालमा दाङका २, कपिलवस्तुका ३ र बाँकेका ८ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी दिए । शुक्रबार पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका दाङका २ सहित कपिलवस्तु र बाँकेका गरी १३ जनालाई उपचारका लागि गए राति अस्पतालमा ल्याइएको हो ।
दाङ गढवा—४ का ३६ वर्षीय युवक भारतको गोरखपुर र वडा नं ५ का २३ वर्षीय युवक मुम्बईबाट आएका गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । दुवैलाई कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेका छुट्टाछुटै क्वारेन्टिनबाट गढवा गाउँपालिकाले एम्बुलेन्सबाट सीधै क्वारेन्टिना लगेका पनि गाउँपालिकाका अध्यक्ष यादवले बताए ।
संक्रमित दुवै भारतमा मजदूरी गरेर फर्किएका हुन् । त्यस्तै, तुलसीपुर—७ का ३४ वर्षीय पुरुषमा पनि शुक्रबार नै कोरोना पुष्टि भएको छ । उनी स्वास्थ्यकर्मी रहेको र काठमाडौँमा उपचार भइरहेको छ । रुपन्देही र बाँके जिल्लाका कोरोना अस्पतालमा बिरामीको चाप बढेपछि उनीहरूलाई बेलझुण्डी अस्पताल ल्याइएको थियो ।