काठमाडौं, ३१ वैशाख-मंगलबार काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिकाकी रहेको खुलेको छ । उनी र मंगलबार नै संक्रमण देखिएका भक्तपुरका २ जनालाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेकाे छ ।
भक्तपुरमा फेला परेका १ पुरुष र महिला संक्रमित हाल सालै तराइबाट काठमाडौंबाट आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले बताए । तीनै जनाको स्वास्थ्य अवस्था समान्य रहेको छ ।
मंगलबार साँझ उनीहरूसहित थप २६ जनामा कोरोना पुष्टि भएको थियो । जसमा पर्साका १८, महोत्तरी, धनुषा, भत्तपुरका २/२, काठमाडौं र सर्लाहीका १/१ जना रहेका छन् ।
नयाँ संक्रमितमा पर्साका २२, २८, २८, ३२, ४५, ६० वर्षीय पुरुष, १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१ र ६१ वर्षका महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, महोत्तरीका १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए ।
उनका अनुसार धनुषाका २० वर्षीया महिला, ४० वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीया महिला, २७ वर्षीय पुरुष, काठमाडौंकी ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो मात्रै नेपालमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार दिउँसो ५७ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै नेपालमा संक्रमितको कुल संख्या २ सय १७ पुगेको छ । जसमध्ये हालसम्म ३४ जना उपचारपछि घर फर्किएका छन् ।